काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विकासका नाममा हुने होडबाजीले समाजमा सुव्यवस्था, आपसी सद्भाव, एक अर्कालाई गर्ने सहयोगको भावना खस्कदैँ गएको बताएका छन् ।
ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताएका हुन।
यसैबीच उनले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् । उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताए ।
राष्ट्रपति पौडेलले भने– ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेका यही कारण हो ।’
राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।