कर सप्ताहको दोश्रो दिन पोखरामा पहिलो सेवाग्राहीलाई सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।
कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजश्व कार्यालय पोखराले आइतबार कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालयमा आएका पहिलो सेवाग्राही पोखरा ४ गैरापाटनमा राधा खाजा घरका सञ्चालक यम बहादुर हमाललाई सम्मान गरेको हो ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले हमाललाई खादा र माला लगाई स्थायी लेखा दर्ता नम्बर प्रमाणपत्र प्रदान गरे । कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजश्व कार्यालय पोखराले शनिवार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ यो वर्ष कर सप्ताह मनाइँदैछ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखेको छ । विभिन्न सञ्चार माध्यम, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य सघं र आन्तरिक राजश्व कार्यालयमा यी कार्यक्रम हुनेछन् ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ७ मंसिरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।

  • २ मंसिर २०८१, आईतवार १२:५३ प्रकाशित