पोखरा ।
पोखरा महानगरले कर्मचारी विवाद समाधानका लागि समिति गठन गरेको छ । महानगरका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोति तिमिल्सिनाको संयोजकत्वमा कांग्रेस र एमालेका वडा अध्यक्ष र सदस्यहरुको समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा वडा नं ४का वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ रहेका छन । अन्य सदस्यहरुमा वडा नं ३० का वडा सदस्य विनोद लामिछाने, १६ का सदस्य रामचन्द्र आचार्य, २२ की सदस्य कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल रहेका छन ।
उनीहरुलाइ समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ । कांग्रेसले जुनसुकै हालतमा ति कर्मचारी हटाउनुपर्ने बताएको छ भने एमाले हटाउन नहुने पक्षमा छ ।
लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएपछि पनि करार कर्मचारी कार्यरत छन् । कात्तिक १४ को ३७ औं कार्यपालिका बैठकले २८ जना प्राविधिकलाई मंसिर १ देखि विदा गर्ने निर्णय गरेको थियो । एमालेले उक्त बैठक बहिष्कार गरेको थियो भने अहिले कर्मचारी हटाउन नहुने भन्दै दैनिक आन्दोलन गर्दै आएको छ ।