क्रसकन्ट्री दौडका लागि चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत पोखरा आए

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आयोजना हुने क्रसकन्ट्री दौडमा भाग लिनका लागि चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत आज पोखरा आएका छन् ।

हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस-कन्ट्री दौड प्रतियोगितामा भाग लिन आएका चिनियाँ खेलाडी चीनको कुनमिङबाट खेलाडी सिचुवान एयरलाइन्सको चार्टर्ड विमानमार्फत आज दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

जहाजमा १२० जना चिनियाँ नागरिक पोखरामा उत्रिएको विमानस्थलका सूचना अधिकारी जशोदा जसोदा सुवेदीले जानकारी दिइन्।चीनबाट १३४ जना आउने भनिए पनि १४ जना कम आएको बताइएको छ ।

विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ ।चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो ।

त्यतिबेला चीनको छेन्दु शहरबाट पोखरामा आयोजित ड्रागन बोट रेसमा सहभागी हुने खेलाडी लिएर सिचुवान एयरलाइन्सले नै चार्टर फ्लाइट गरेको थियो। बिहीबार उक्त एयरलाइन्सले पोखरामा दोस्रो पटक चार्टर फ्लाइट गरेको विमानस्थलका सूचना अधिकारी  सुवेदीले बताइन् ।

योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि ८ वटा अन्तर्राष्ट्रिय उडान भएको छ।पोखरामा शनिबार आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली र चिनियाँ खेलाडी सहभागी हुने आयोजकले बताएको छ ।

प्रतियोगिता शनिबार बिहान लेकसाइडको बाराहीघाटबाट सुरू हुनेछ। प्रतियोगितामा ५० किलोमिटर दूरी रहेको समुहगत र व्यक्तिगत प्रतिस्पर्धा हुनेछ।विद्यार्थीका लागि ५ किलोमिटर र ह्याप्पी रन समूह २ किलोमिटर दूरीमा दौड प्रतियोगिता हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।

प्रतियोगिताका समूह विजेताले ४ लाख ५८ हजार रुपैयाँ र उपविजेताले ३ लाख ४३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विजेता महिला र पुरुषलाई समान एक १ लाख ५२ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विद्यार्थी दौड प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

  • २२ कार्तिक २०८१, बिहीबार १६:५५ प्रकाशित