काठमाडौँ ।
तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनसम्म खुल्ने व्यवस्था गरिएको हो ।
बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ । त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।
गण्डकी प्रादेशिक कार्यालय, पोखरा कार्तिक १६ र १७ गते खुल्ने भएको छ । कोशी प्रादेशिक कार्यालय, विराटनगर कार्तिक १६ र १९ गते, मधेश प्रादेशिक कार्याय अमलेखगञ्ज कार्तिक १६ र १९ गते, बागमती प्रादेशिक कार्यालय थानकोट कार्तिक १६,१७ र १९ गते, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कार्तिक १६ र १७ गते, कर्णाली प्रादेशिक कार्यालय भैरहवा कार्तिक १६ र १७ र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी कार्तिक १६ र १९ गते खुल्ने भएको छ ।
निगमले यो अवधिमा डिपोबाट हुने बिक्रीवितरणसम्बन्धी जानकारी लिएर सम्बन्धित डिपोमा जान आग्रह समेत गरेको छ ।