‘पोखरेली जेठोबुढो’ धान कृषि उपज खाद्य कम्पनीले किन्ने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ ।

जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिद गरेको छ । यसले जेठोबुढो बिक्रीको बाटो खुलेको छ ।

सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबुढो न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल रु नौ हजार पाँच सय तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । आगामी असार मसान्तसम्म उक्त कम्पनीले जेठोबुढोसँगै अन्य स्थानीय उपज पनि खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई जेठोबुढो बेच्न सक्नेछन् ।

यसअघि पनि महानगरले जेठोबुढोको ‘प्याकेजिङ, ब्राण्डिङ’का साथ बजारीकरण गरेको थियो । महानगरले जेठोबुढोसहित अन्य ३५ प्रकारका कृषि उपजहरुको समर्थन मूल्य तोकेर महानगरभित्रका किसानलाई न्यूनतम मुनाफासमेत मूल्य सुनिश्चित गरेको छ । महानगरले २०७६ सालदेखि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा जेठोबुढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ ।

वार्षिक दस टनसम्म उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा जेठोबुढोको उन्नत बिउ प्रदान गर्दै आएको छ । कृषि महाशाखाका अनुसार पोखरामा ११ हजार दुई सय हेक्टरमा धान बाली लगाउने गरिएकामा ४० प्रतिशत हिस्सा जेठोबुढोले ओगटेको छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार ११:०१ प्रकाशित