विपद्पछिको पुननिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने बताए ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको बताए ।

‘काभ्रे, सिन्धुली र ललितपुर जिल्लामा ठूलो क्षति पुगेको छ । हामी पहिले उद्धारका कार्यमा लाग्यौँ । त्यसपछि राहत र सहायताका काममा लाग्यौँ । अब राहतसँगै पुननिर्माण र पुन व्यवस्थापनका काममा लाग्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाढी पहिरोले ७१ वटा स्थानीय तह प्रभावित भएका छन् । केही स्थानीय तहहरू धेरै नराम्रो गरी प्रभावित भएका छन् । कतिपय एउटै पालिकामा ७० भन्दा बढीको ज्यान गएको छ । धेरै भौतिक संरचनामा क्षति पुगेको छ, हामी आफ्नै बलबुतामा यो विपत्तिबाट बाहिर आउने प्रयास गरिरहेका छौँ । केही समय लाग्न सक्छ । तर हामी तत्कालै पुनःनिर्माणको काम अघि बढाउँछौँ ।’

प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेरभन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए ।

  • ३० आश्विन २०८१, बुधबार १५:५९ प्रकाशित