पोखरा ।
दशैंको फूलपातीसम्म गण्डकी प्रदेशको राजधानी पोखराबाट ८६ हजार जना यात्रु बाहिरिएका छन् । पोखराबाट विभिन्न नाका हुँदै बिहिबार फूलपातीको दिन रातिसम्म ७२ हजारको हाराहारीमा यात्रु बाहिरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले जानकारी दिइन । यो यात्रुबहाक बससहित जिप र भ्यानमा यात्रा गर्नेहरुको संख्या हो । कार, ट्याक्सी र मोटरासाइकल लगायतका सवारी साधनबाट बाहिरिने यात्रुको संख्या यसमा समावेश नरहेको ट्राफिक प्रमुख पाण्डेले बताइन् ।
ट्राफिक प्रहरीले निकालेको संख्याको थप २० प्रतिशतको संख्यामा अर्थात करिव १४ हजार यात्रु आफ्नै सवारी साधन मार्फत घर फर्केको निजी सवारी मार्फत पोखराबाट बाहिरिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले बताएका छन् । जगारी तथा विभिन्न पेशा ब्यवसायका लागि प्रदेश राजधानी पोखरा आएका यात्रु दशैं मनाउन घर फर्केका हुन् । उनको भनाइलाई आधार मान्दा यसपालीको दशैंमा फूलपातीको रातिसम्म ८६ हजार जनाले दशैंमा पोखरा छोडेका हुन् ।
पोखराबाट देशका झण्डै सबैभागमा सेवा दिएको पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अनुसार यसपाली जम्मा १५ हजार हाराहारीमा मात्र टिकट काटेर यात्रुले यात्रा गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका कर्मचारी पुष्पराज पौडेलका अनुसार यो पोहोरको तुलनामा ५० प्रतिशत भन्दा पनि कम संख्या हो ।
कर्मचारी पौडेलका अनुसार अघिल्ला वर्षमा ३५ वटा रात्री बस नियमित छुट्नेमा यो वर्ष मुस्किलले १८ वटासम्म रात्री बस छुटेको जानकारी दिए । नियमित क्यूकै गाडी खाली जानुपरेको उनले सुनाए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले एकमहिना अगाडि देखि नै दशैंका लागि अनलाइन मार्फत नै टिकट काट्ने व्यवस्था मिलाएको थियो ।
पोखराबाट विशेषगरी छोटो दुरीका यात्रुले टिकट नकाटीकनै चोकचोकमा बसेर गाडि ढुक्ने गर्छन् । उनीहरुले टिकट काट्न भन्दापनि बाग्रेनिङ गरेर यात्रा गर्ने गरेको पाइएको छ । टाढा पुग्ने यात्रुले भने टिकट काटेरै यात्रा गर्ने गरेका छन् । यहाँबाट काँकडभित्ता, धरान, कटारी, बिराटनगर, जनकपुर, विरगञ्ज, फत्तेपुर, सिन्धुली, महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ लगायतका स्थानमा पुग्ने यात्रुले टिकट काट्ने गरेका पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका कर्मचारी पौडेलले बताए । उनका अनुसार रोल्पा, रुकुम, सल्यानसम्म जाने यात्रुले टिकट काटेर गएका छन् ।
खासगरी नारायणगढ, बागलुङ, बेसीशहर, स्याङजा र बुटवल लगायतका क्षेत्रमा जाने यात्रुले टिकट नकाट्ने गरेको यातायात व्यवसायी बताउँछन् ।