पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा ज्यान गुमेको छ ।
२४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत् आयोजना पहुँचमार्ग खन्ने क्रममा पहिरो जाँदा घाइते भएका धनकुटाको पाख्रीबास –८ कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईले ज्यान गुमाएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको हो ।
घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् । उनको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।आज बिहान करिब ११ः०० बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो ।
पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए ।














