प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेद्धारा ५०/५० लाख हस्तान्तरण

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज ५०/५० लाख हस्तान्तरण गरेका छन्।

आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे सुझावसहित कोषलाई ५० लाख हस्तान्तरण गरेको हो । कांग्रेसले सो रकममा पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत राखेको बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा तथा लगायत सहभागी रहेका थिए ।

यस्तै सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पारेका छन् ।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु पचास लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए ।

  • २० आश्विन २०८१, आईतवार १७:०२ प्रकाशित