काठमाडौं ।
नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।
आइसिसीको पछिल्लो वरियताअनुसार २५६ रेटिङ अंकका साथ ऐरी वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् ।
जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन् । उनीहरूको रेटिङ अंक क्रमशः ३२० र २७५ रहेको छ ।
आसन्न एसिसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा ऐरी वरियताको शीर्ष स्थानमा उक्लिने सम्भावना छ ।
यस्तै, ‘टी–२० अलराउन्डर’ वरियतामा नेपालका कुशल भुर्तेल २७ औं, रोहितकुमार पौडेल ५४ औं, गुलशन झा ८२ औं र कुशल मल्ल ९० औं स्थानमा रहेका छन् ।












