बाढीपहिरो प्रभावितलाई ३ दिनभित्र राहत उपलब्ध गराउने गृहमन्त्रीको प्रतिवद्धता

केन्द्रभाग मिडिया

Photo : RSS

ललितपुर ।

गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।

आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए ।

‘सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ’, गृहमन्त्री लेखकले भने, ‘क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ ।’

उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए ।

गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए । रासस

  • २० आश्विन २०८१, आईतवार १४:२४ प्रकाशित