बागलुङ ।
सहकारी ठगी आरोपित देवकुमार नेपाली बिरुद्ध मंगलबार आजबाट थुनछेकको बहस सुरु हुने भएको छ । सोमबार दिनभर नेपालीको बयान लिइएको र आज मंगलबार थुनछेक बहस चल्ने जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई काठमाडौंदेखि पोखरासम्म हवाइजहाजमा ल्याएपछि प्रहरीको गाडीले आइतबार राति बागलुङ पु¥याएको थियो । सोमबार बिहान ११ बजे अदालत पु¥याए पनि पौने १२ बजेदेखि बेलुकी ५ बजे सम्म लगातार नेपालीको बयान गराएको थियो । नेपालीलाई अदालतमा ल्याउने चर्चापछि बचतकर्ता, इमेज सहकारी पीडित संघर्ष समितिका पदाधिकारीलगायत अदालत परिसरमा पुगेका थिए । प्रहरीले पनि अदालतमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
नेपालीबिरुद्ध १ हजार ५ सय ४३ जनाको जाहेरी परेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले ताराबहादुर कुँवरसहितका पीडितको जाहेरीले भन्दै २०८० असार ३१ गते नेपालीसहित १० जना बिरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । साउन ४ गतेको आदेशले नेपालीबाहेक ७ जना संचालकलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो । यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।
उनीहरुलाई जिल्ला अदालत बागलुङको ४ साउन २०८१ को आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८० पुस पहिलो साता पक्राउ परेर पुर्पक्षकालागि कारागारमा छन् । ७ बैसाख २०८१ मा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि ४ जेठ देखि नेपाली बेपत्ता थिए ।
उनीबिरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।