सृजना माविको ‘स्पोर्ट्स मिट’ सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा । पोखरा–८, सृजनाचोक शान्तिमार्गस्थित सृजना सेकेन्डरी स्कुलको आयोजनामा सञ्चालित वार्षिक खेलकुद कार्यक्रम ‘सृजना स्पोर्ट्स मिट–२०८३’ सम्पन्न भएको छ।

‘विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ असोज २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए । विद्यालयको आयोजनामा तथा नेपाल जुनियर रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा तहगत रूपमा आन्तरिक तथा खुला प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गरिएको थियो।

विद्यालयका खेलकुद विभाग प्रमुख गोपाल थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको उद्घाटन विद्यालयका सल्लाहकार कृष्ण घिमिरे र भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठले संयुक्त रूपमा बेलुनका गुच्छा उडाएर गरेका थिए। उद्घाटन सत्रमा सल्लाहकार घिमिरेले कार्यक्रमको उच्च सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न खेलका संयोजकहरू चयन गरी जिम्मेवारी बाँडफाँट गरिएको थियो । कार्यक्रमको पहिलो दिन असोज २६ गते सोमबार विद्यालयको खेलमैदानमा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीका लागि झोला दौड, हिसाब दौड, माला बनाउने, बेलुन ब्लास्ट र मेमोरी गेमलगायतका खेल सञ्चालन गरिएको थियो। कक्षा ४ देखि ८ सम्मका विद्यार्थीबीच छात्रछात्राको छुट्टाछुट्टै ह्यान्डबल प्रतियोगिता तथा कक्षा ९ र १० का विद्यार्थीका लागि बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो। त्यस्तै, कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्राको छुट्टाछुट्टै फुटसल प्रतियोगिता पनि सम्पन्न भएको थियो।

दोस्रो दिन असोज २७ गते मंगलबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि १००, २००, ४०० र ८०० मिटर दौडका छनोट चरणका खेल पोखरा रंगशालामा सञ्चालन गरिएको थियो। सोही दिन कक्षा ९ र १० का विद्यार्थीबीच डोरी तान्ने प्रतियोगिता पनि सम्पन्न भएको थियो ।

तेस्रो दिन असोज २८ गते बुधबार पोखरा रंगशालामा कक्षा ६ र ७ का विद्यार्थीले मार्चपास प्रस्तुत गरेका थिए । त्यसैगरी, कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका विभिन्न दौडका फाइनल प्रतियोगिता रंगशालामै सञ्चालन गरिएका थिए ।

अन्तिम दिन कक्षा ४ र ५ का विद्यार्थीका लागि बेलुन ब्लास्ट र बिस्कुट खाने प्रतियोगिता तथा कक्षा ६ र ७ का विद्यार्थीका लागि मेमोरी गेम र तीनखुट्टे दौडलगायतका खेल सञ्चालन गरिएको थियो। कक्षा ११ र १२ का विद्यार्थीबीच डोरी तान्ने प्रतियोगिता पनि सम्पन्न भएको थियो।

विद्यालयका खेलकुद विभाग प्रमुख गोपाल थापाका अनुसार कक्षा ११ र १२ का छात्रछात्राको भलिबल प्रतियोगिता असोज २९ गते बिहीबार विद्यालयको खेलमैदानमा सञ्चालन गरिनेछ ।

विद्यालयले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकाससँगै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले वार्षिक रूपमा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • २८ आश्विन २०८३, बुधबार २१:१५ प्रकाशित