लत्रेको इन्टरनेट तार हटाउन खोज्दा करेन्ट लागेर एक जनाको ज्यान गुम्यो

ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्तिसहित पोखराका अव्यवस्थित तार व्यवस्थापनको माग

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखराका सडक छेउमा रहेका बिद्युत पोलम विद्युत बहाव हुने तार मात्र होइन । इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकका तारहरु समेत  जोखिमयुक्त देखिएका छन् । अव्यवस्थित रुपमा रहेका यस्ता केबल एवं फाइबर तारलाई व्यवस्थापान गर्न खोज्दा त्यसमा करेन्ट प्रवाह भएर ज्यान गुम्न सक्छ । यही १ असोजमा आफ्नै घर प्रांगणमा लत्रिएको फाइबर व्यवस्थापन गर्न खोज्दा करेन्ट लागेर पोखरा ६ का खेमबहादुर पौडेलले ज्यान गुमाएका छन् । प्रांगणमा लत्रेको इन्टरनेटको तार व्यवस्थापन गर्न खोज्दा गम्भिर घाइते भएका ६३ वर्षीय पौडेलको उपचारको क्रममा ९ असोजमा मणिपाल शिक्षण अस्पतालमा ज्यान गुमेको हो ।

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीका कारण आफ्नो अभिभावक गुमाउनु परेको भन्दै परिवार र पोखरा स्थित विभिन्न संघसंस्थाहरुले शनिबार पत्रकार घटनास्थलमै पत्रकार भेटघाट कार्यक्रम गरेर उचित क्षतिपूर्तिसहित लापरबाहीको छानविन गरी दोषी रहेको इन्टरनेट कम्पनी र विद्युत प्राधिकरणका जिम्मेवार व्यक्तिलाई कारबाहीको माग गरेका छन् । पोखराका पोलहरुमा लत्रिएका तारको जालोका कारण कयौंपटक आगलागीका घटना भएका र जनधनको समेत क्षति भएकाले ज्यान गुमाउने खेमबहादुर पौडेलका परिवारलाई उचित क्षतिपूर्ति र दुर्घटना दोहोरिन नदिनका लागि लथालिंगरुपमा रहेका तारहरुको यथाशीघ्र सुरक्षित व्यवस्थापनको माग उनीहरुले गरेका हुन् ।

ज्यान गुमाएका खेमबहादुर पौडेलका भाई भरतबहादुर पौडेलले विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थाको लापरबाहीका कारण आफूहरुले अभिभावक गुमाउनु परेको पीडा सुनाए । उनले आहतमा रहेको परिवारलाई उचित क्षतिपूर्ति दिन र आइन्दा यस्ता घटना दोहारिन नदिन तारको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिसदका अध्यक्ष तारानाथ पहारीले सेवा प्रदायक संस्थाले पैसा लिएपछि त्यसको सहि व्यवस्थापन गर्नुपर्नेमा नगरिदिँदा यस्ता दूखद् घटना बेहोर्नुपरेको बताए । अहिले पोखरा ब्ल्याक ट्रीको रुपमा चिनिन थालेको भन्दै अव्यवस्थित तार हटाउन र सम्बन्धित निकायको लापरबाहीका कारण दुखद् घटना घटेकाले क्षतिपूर्ति दिलाउनका लागि आफूहरु लागने बताए ।

वातावरण संरक्षणका लागि महाअभियानका अभियान्ता एवं नागरिक समाज कास्कीका संस्थापक रामबहादुर पौडेलले आफूहरु फोहोर व्यवस्थान एवं अव्यवस्थित तारहरु हटाउने काम गर्ने गरेकोमा सफाई अभियान्ता नै जोखिममा परेको महसुस् भएको सुनाए । उनले शीघ्ररुपमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिँदै यस्ता जोखिममा पार्ने तार हटाउनका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराए । उचित सुनुवाई नभए नागरिक सडकमा आउनुपर्ने तर्फ सचेत रहन उनले प्रशासनलाई आग्रह गरेका छन् ।

रेवान पोखराका पूर्व अध्यक्ष भिमसेन भूजेलले नपाल विद्युत प्राधिकरणलाई एक हप्ता अगाडि देखि आफुहरुले तारमा आगलागी भएको र दूर्घटना हुनसक्ने भन्दै समाधानका लागि आग्रह गर्दापनि वास्ता नगरेका कारण यस्तो घटना भएको बताए । उनका अनुसार कही दिन अगाडि पोलमा टांगिएका फाइबर तारमा आगलागी भएको थियो । यसको समाधान गर्न विद्युत प्राधिकरणलाई पटक पाटक फोन गरेर आग्रह गरिएको थियो ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले एक असल अभिभावक गुमाउनुको पीडा आफूहरुले भोगेको भन्दै आगामी दिनमा यस्ता दूर्धटना हुन नदिन सम्बन्धित पक्ष जिम्मेबार हुनुपर्ने बताए । उक्त अवसरमा पोखरा ६ बाट निर्वाचित जनप्रतिनिधि पवित्रा थापा, महिला सञ्जाल बैदामका वविता मल्ल र नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी लगायतले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र आइन्दा यस्ता घटना हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यसरी भएको थियो घटना

दिउँसो करीब १२ः४० बजेको समय हुँदो हो । पोखरा ६ का गौरिघाट मार्गका खेमबहादुर पौडेल कतै गएर घर आएपछि आफ्नै घरको गेटभित्र पोलबाट लत्रिएको ईन्टरनेटको तार पन्छाउँदै थिए । त्यही क्रममा क्रममा उनलाई करेन्ट लाग्यो । ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए । तर हुत्याएको तार आफ्नो घाँटीदेखि छातीहुँदै कम्मरसम्म बेरियो ।

करेन्टसहितको तारले बेरिएपछि उनी त्यहिं ढले । श्रीमानलाई करेन्ट लागेर ढलेको देखेपछि श्रीमती जानुका पौडेल चिच्याईन् । त्यो सुनेर वरपरका मानिस जम्माभई उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगियो ।

करेन्टले घाँटीदेखि छातीहुँदै कम्मरसम्म र हातपनि जलेको अवस्थामा अस्पताल पु¥याइएका उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो । शुरुमा थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरेपनि तत्काल लान नमिल्ने अवस्था थियो । छैटौं दिन सुधार भएाले काठमाडौं लैजान चिकित्सकले अनुमति दिएका थिए । तर, मौसमका कारण हेलिकोप्टर उपलब्ध हुन सकेन । पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै थियो । तर, आठौं दिनमा आएपछि उनको अवस्था थप जटिल बन्यो र नवौं दिनको दिन उनको ज्यान गुमेको हो ।

  • १२ आश्विन २०८१, शनिबार १७:४४ प्रकाशित