सर्लाहीमा गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

केन्द्रभाग मिडिया

वीरगन्ज ।

सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन् । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे श्रीमान्‌ले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।

सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन ।

घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

  • १० आश्विन २०८१, बिहीबार ०९:४१ प्रकाशित