पोखरा ल्याइएका पूर्व डीआईजी जोशीलाई आज अदालत पेश गरिँदै

केन्द्रभाग मिडिया

पोखरा ।

आइतबार काठमाडौंमा पक्राउ गरी गएराति पोखरा ल्याइएका पूर्व डीआईजी छविलाल जोशी आज जिल्ला अदालत हाजिर गराइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त शर्माले कार्यालय समय सुरु भएपछि आजै कास्की अदालत उपस्थिति गराउने तयारी रहेको जानकारी दिए ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका जोशी पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको संस्थापक सदस्य हुन् भने उनी गोर्खा मिडियाको पनि सञ्चालक थिए । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

कारबाही सिफारिस भएका मध्ये रम्तेल कास्की जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ । उनी अझसम्म पक्राउ परेका छैनन् । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी छ ।

  • ७ आश्विन २०८१, सोमबार ०७:४८ प्रकाशित