लोमान्थाङमा हुन थाल्यो स्याउ खेती

केन्द्रभाग मिडिया

म्याग्दी ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्थे ।

उनका अनुसार कागबेनीमा छिटपुट रुपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो । ‘तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,’ उनले तीन दशक अघिको स्मरण गरे, ‘अहिले घाँसा, लेतेमा स्याउको बगैचानै छैन । उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ ।’

दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराकी छेमा गुरुङले तीन हजार नौ सय मिटर उचाइमा अवस्थित घारा गाउँको बगैचामा स्याउ फलाउन थालेकी छन् । ‘पहिले धेरै स्याहार सुसार र मेहनत गरेपनि स्याउ फल्ने गरेको थिएन,’ उनले भनिन्, ‘तापक्रम बढ्न र मौसममा आएको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ ।’

मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउ खेतीमा पनि देखिएको कृषक र प्राविधिकहरुले बताएका छन् । तल्लो क्षेत्रमा नासिँदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिँदै र फस्टाउन थालेको छ । थासाङ गाउँपालिका–२ कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौति सिर्जना भएको बताए ।

कोवाङ क्षेत्रको बगैचाको स्याउमा दादे रोग चुनौतिका रुपमा देखिएको थकालीले बताए । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका कृषकहरुले विकल्पमा ओखर खेती गर्न थालेका छन् । जोमसोम देखि तल्लो भेगमा अत्याधिक स्याउ खेती हुने भएकाले वि।स। २०२३ मा सरकारले मार्फामा शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरेको थियो ।

स्याउ लगायत हिमाली फलफुल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र विउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्यमनाथ आत्रेयले मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको बताए ।

चालीस प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकुल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीमा बागबानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताए ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ । पहिले असोज लागेपछि गुलीयो पस्ने गरेकोमा यसपाली गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खान योग्य भएको घरपझोङ गाउँपालिका–२ मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताए ।

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त बरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए ।

स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको छ । अनुकूल मौसम, बगैचा व्यवस्थापन, रोगको समस्या कम देखिएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षका तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार ९७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु‍। ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौ लगायतका शहरका ब्यापारी बगैचामा नपाग्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् ।

  • ४ आश्विन २०८१, शुक्रबार १७:१० प्रकाशित