सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिए : समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो ।

एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ ।

सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ ।

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो ।

समितिले प्रतिवेदनमा भनेको छ, ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ ।’

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।

  • ४ आश्विन २०८१, शुक्रबार १५:०० प्रकाशित