यसपटकको संविधान दिवसमा कैदी रिहा नहुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।

गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की बताए । ‘कैदी बन्दीको विवरण हामीले दुई पटक मन्त्रालयमा पठाइसकेका छौं । तर गृहबाट निर्णय हुन बाँकी भन्ने जानकारी आएकाले भोलि छुट्ने सम्भावना छैन’, उनले भने ।

९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो । ।

दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ ।

  • २ आश्विन २०८१, बुधबार १७:०१ प्रकाशित