सहकारी छानबिन समितिले संसद्लाई बुझायो प्रतिवेदन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन संसद्लाई बुझाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभापति थापाले समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि तथ्य जानकारी लिएर सम्पादन गरेको बताए । उनले त्यसक्रममा ५६ वटा बैठक बसेको र पछिल्लो बैठकमा प्रधानमन्त्री आफै उपस्थित भएर सहकारी समस्या समाधानमा प्रतिबद्धता जनाएको बताए । उनले ४५१ जनासँग छलफल गरेको, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ जनासहित ५५ जनासँग सोधपुछ गरेको बताए ।

प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले नेकपा एमाले सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो । समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा ९माओवादी केन्द्र०बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको सभापति थापाले संसद्लाई जानकारी गराएका छन् । उनले कार्यादेशमा रहेर महत्त्वपूर्ण १४ वटा सुझाव पेस गरेको भन्दै सहकारी क्षेत्र धर्मराए पनि प्रचुर सम्भावना रहेको बताए ।

उनले सहकारी क्षेत्रमा ‘फेक’ ऋणी कायम गर्ने प्रवृत्ति रहेको भन्दै कानुनविपरित हुने काम बन्द गर्नसक्नुपर्नेमा जोड दिएका छन् । प्रतिवेदनले सिफारिस गरेका विषयहरू सरकारलाई कार्यान्वयनमा लैजान संसदबाटै निर्देशन दिन सभापति थापाले माग गरे । थापाले सहकारी क्षेत्रमा मडारिएको कालो बादल प्रतिवेदनले फाँटने विश्वास व्यक्त गरेका छन् ।

  • ३१ भाद्र २०८१, सोमबार १५:२४ प्रकाशित