साफ यू–२० : घरेलु मैदानमा उपाधिबाट चुक्यो नेपाल

केन्द्रभाग मिडिया

नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधिबाट चुकेको हो ।

साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई हराउँदै पहिलो पटक उपाधि उचालेको हो। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो। सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध बन्यो।

सन् २०१७ मा नेपालसँग हेड टू हेडमा पछि पर्दै बंगलादेश उपविजेता बनेको थियो। यस्तै, सन् २०१९ र २०२२ को फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

एकै समूह चरणमा रहेको नेपालले बंगलादेशलाई २–१ ले हराउँदै समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो। तर फाइनलमा भने नेपाल बंगाली टोलीसँग पराजित भयो। फाइनलमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगाली टोलीले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ।

  • १२ भाद्र २०८१, बुधबार १६:४३ प्रकाशित