पोखरा ।
पोखरामा १४ वर्षीया बालिकालाई विवाह गर्ने चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले कास्कीले उनीहरुलाई पोखरा ६ लेकसाइड स्थित होटल मिराकलबाट पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका ३१ वर्षीय झि मिङ छेन, लम्जुङ घर भई हाल पोखरा १६ बस्ने २२ वर्षीया सरु विक र पोखरा २२ की ३४ वर्षीया भगवती अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
डिएसपी शर्माका अनुसार १४ वर्षीय एक वालिकालाई अभिभावकलाई कुनै थाहा जानकारी नदिई सरु विक र भगवती अधिकारीले “तिमी दु:ख पाउने केटी रहेछौ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौ, तिमी उसँग विवाह गरेउ भने तिम्रो भविश्य बन्छ” भनि विभिन्न किसिमबाट ललाई फकाई गरेर विश्वास दिलाई चाइनिज नागरिकबाट आर्थिक लाभ लिई १३ साउनमा विवाह गराएका थिए । त्यस पस्चात पोखरा ६ लेकसाईड स्थित ५ नम्बर गल्लीमा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित बालिका भाग्न सफल भएकी थिइन् । यो सूचना प्राप्त भए पछि प्रहरीले पीडितको अभिभावकसंग समन्वय गरी पीडितलाई उद्दार गरेको थियो ।
पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा २९ साउनमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । तीनै जनालाई मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।