पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

केन्द्रभाग मिडिया

म्याग्दी ।
पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका २ पानाबगर र खहरे खोलाको बिच भागमा सडक माथिबाट पहिरो खसेको हो ।

शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । बेनी नगरपालिका ४ र मङ्गला गाउँपालिका २ को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोले पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरि ,मालिका र मङ्गला गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिकले समेत सास्ती व्यहोर्नु परेकोे छ ।

 

  • २६ श्रावण २०८१, शनिबार ०८:५० प्रकाशित