पोखरा ।
पोखरामा जारी मेहेन्दी मेलामा महिला दिदिबहिनीको आकर्षण देखिएको छ । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी एकेडेमीले न्यूरोड स्थित प्रागंणमा साउनलक्षित गरेर सुरु गरेको मेला दुई दिनमा एक हजार भन्दा धेरैले मेहन्दी लगाएका छन् । ३० असारदेखि सुरु गरेकोमा भोलि ३ साउनसम्म चल्नेछ ।
मेलामा विभिन्न डिजाइनका साथमा मेहेन्दी लगाउनेहरुको आकर्षण रहेकोे एकेडेमी सञ्चालक चिनु गुरुङले बताइन् । ‘साउनमा तिउरी लगाउने परम्पराबाट सुरु भएको परम्परा विकसित भएर मेहन्दीसम्म आइपुग्दा यसैलाई मध्यनजर गरेर मेला आयोजना गरिएकोमा महिला दिदिबहिनीहरुको यसमा निकै आकर्षण देखिएको छ ।’ उनले भनिन् ।
मेलाको अर्को उद्देश्य भनेको एकेडेमीमा प्रशिक्षार्थीको सिप विकास गर्नु रहेको उनले बताइन् । सँगै व्यवसाय प्रवद्र्धन र दीगो विकासका लागि पनि मेला आयोजना गरिएको उनको भनाइ थियो । ‘यहाँ डिप्लोमा कोर्स राखेका छौं, त्यसमा १५ दिन मेहेन्दी सिकाइन्छ । त्यसपछि सिप विकासका लागि तालिम सकेर प्रतियोगिता राख्छौं,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा सबैतिर व्यवसाय खस्कदो छ । व्यवसाय प्रवद्र्धनका लागि र संस्कृति संरक्षणका लागि मेला आयोजना गरिएको हो ।’
मेलामा ५० रुपैयाँदेखि ५ हजारसम्मका डिजाइनका मेहेन्दी लगाउन पाइने उनले जानकारी दिइन् । उनका अनुसार मंगलबारसम्म मेलामा एक हजार भन्दा धेरै जनाले सेवा लिइसकेका छन् । अन्तिम अब आज र भोलिसम्ममा गरेर दुईहजार भन्दा धेरैले सेवा लिने अनुमान छ ।














