पोखरा ।
पोखराको फेवातालमा कार खस्दा त्यसमा सवार दुईजनाको ज्यान गुमेको छ । दुइजनाको जिवितै उद्धार भएको छ । भारतीय कार फेवा तालमा खस्दा त्यसमा सवार भारतको विहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका ४०–४५ वर्षका अर्का एक पुरुषको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
उनका अनुसार पोखरा १८ गैरीचौतारा घुम्ति स्थित सेदीबाट लेकसाईड तर्फ आउदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कारले सन्तुलन गुमाएर विहान ४ः५० बजे फेवातालमा खसेको हो ।
दुर्घटनामा घाइते हुनेमा भारतको बिहार स्थित रक्सोल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव, र सोही ठाउँका ३३ वर्षीय सुरज यादव रहेका छन् । उनीहरुको अवस्था मध्यम छ ।
गाडी खसेको जानकारी प्राप्त हुनासाथ बैदामबाट प्रही नायव उपरीक्षक सुर्य बहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जना टोली परिचालित भएर उद्धार भएको हो ।












