आइडीए २१ बैठक सुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् ।

विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ ।

बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

आगामी ३ वर्षका लागि आइडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने बताइएको छ ।

सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ ।

नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्था बारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्चस्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

  • ४ असार २०८१, मंगलवार ०९:२२ प्रकाशित