संसद् सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न राजनीतिक दल सकारात्मक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको जायज माग पूरा गर्न राजनीतिक दलहरू सकारात्मक भएका छन् ।

सोमवार सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, सङ्घीय संसद् सचिवालयका महासचिव, सचिवहरू लगायतसँग कर्मचारीहरूको आन्दोलनको सम्बन्धमा छलफल गरेका थिए ।

छलफलका क्रममा सरोकारवाला सबैले कर्मचारीहरूको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीहरूको न्यायोचित मागलाई पूरा गर्नुपर्ने साझा निष्कर्ष रहेको बताए ।

उनले कर्मचारीहरूको मागलाई सम्बोधन गर्नका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्नुपर्ने भएकाले भोलि (मंगलवार)अर्थमन्त्रीसँग छलफल हुने जानकारी गराए । उनले संसद् सचिवालयलाई आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्जुस्याइँ गर्नु नहुने पनि बताए ।

प्रमुख सचेतक बर्तौलाले बजेट अभावलाई देखाउँदै संसदीय समिति बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाउने सम्मको घटना देखिएको भन्दै यस्तो हुनु दुःखद भएको बताए ।

  • ३ असार २०८१, सोमबार १६:५१ प्रकाशित