आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारले थाल्यो वार्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो ।

आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको बैठक ढिला गरी सुरु भएको छ । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ (डिजेल–पेट्रोल) को ढुवानी ठप्प छ ।

चालक संघले मजदुर विगतदेखि नै न्यून सेवा सुविधामा काम गरिरहेको जनाएको छ । ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

यी हुन् ढुवानीकर्ताका माग

–सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने

–सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने

–स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने

–चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने

–टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने

–चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धित तालिमको व्यवस्थापन गरिनुपर्ने

–५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने

  • ३ असार २०८१, सोमबार ११:०६ प्रकाशित