म्याग्दीमा खडेरीले घोगा नलाग्दै बारीमै सुके मकै, किसान चिन्तित

केन्द्रभाग मिडिया

म्याग्दी ।

असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।

मकै लगाउने समय (फागुन, चैत)मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’, मालिका गाउँपालिका–४ का हिमबहादुर बिकले भने ।

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२ का किसान टेकबहादुर बिकले बताए ।

उनका अनुसार वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन । ‘अहिले खडेरी परेको छ, बारीमा छरेको मकै बारीमा सुक्न थाल्यो, यस्तै भयो भने भोकमरी हुने भयो’, मङ्गला गाउँपालिका–२ की किसान राधिका पौडेलले गुनासो गरिन् ।

लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकाले जनजीवन प्रभावित बनेको यहाँका किसानको भनाइ रहेको छ । ‘विपत्ति सुरु भएको छ, पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन, बारीमा छरेको मकै बारीमा नै सुकेको छ, रोपाइँ गर्न नपाएर किसान चिन्तित छन्, तरकारी र फलफूलका बिरुवा मर्न थाले, वनजङ्गल डढेलोले ध्वस्त भएका छन्, खानेपानीका मुहान सुकिराखेका छन’, मालिका–६ का प्रेम सिउथानीले भने ।

हिउँदमा हिमपात नभएपछि हिमशृङ्खला काला पत्थरजस्ता देखिएका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालको हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयको भनाइ छ ।

  • २ असार २०८१, आईतवार १६:५५ प्रकाशित