यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमती च्याम्पियन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ ।

५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए ।

दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले छात्र सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।

पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको छात्र सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेश्रो भए ।

छात्रा सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेश्रो भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कार प्राप्त गरेका थिए । दुईदिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ छात्र छात्रागरी ५६ खेलाडी सहभागी थिए ।

  • ३१ जेष्ठ २०८१, बिहीबार १६:०१ प्रकाशित