गण्डकीमा फणीन्द्र र मनाङे मन्त्री बन्दै, आजै सपथको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’ मन्त्री बन्ने भएका छन् । उनीहरुको आजै सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । आज उनै फणीन्द्र मन्त्री नियुक्त भएर सपथ गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् ।देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । फणीन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् ।

माओवादी चुनाव चिह्नबाट प्रधानमन्त्री प्रचण्डसँगै चुनाव लडेको देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका थिए भने माओवादीले फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गर्ने बताइरहेको छ ।

  • २९ जेष्ठ २०८१, मंगलवार ०९:३८ प्रकाशित