पोखरा ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेर व्यटिङको निम्तो पाएको छ । अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले नेदरल्यान्ड्सबीचको खेल राति सवा ९ बजे शुरु हुनुपर्ने भए पनि मैदान चिसो भएका कारण केहीबेर ढिला शुरु भएको हो ।
आजको खेलमा नेपाली टोलीमा कप्तान रोहित पौडेलसँगै, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल । सोमपाल कामी दुई पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।