२८ जना बालबालिकालाई लिएर हिँडेका एक व्यक्ति पक्राउ

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले बालबालिकासहित नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले बोली पटक–पटक बदलिरहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

बसमा हालेर बालबालिकालाई रातारात काठमाडौँ लैजान लागेको शङ्कापछि प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

उनका अनुसार १६ बालिका र बाँकी बालक छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बालबालिका ल्याउने व्यक्तिले काठमाडौँको कुन ठाउँमा लैजाने भन्ने विषयमा पनि प्रस्ट खुलाउन नचाहेको बताए ।

  • २२ जेष्ठ २०८१, मंगलवार १५:०७ प्रकाशित