पत्रकार विजय नेपाललाई जितप्रसाद द्वा पत्रकारिता पुरस्कार प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ कास्कीको छैटौं साधारणसभा अवसरमा शनिबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई पुरस्कृत गरेका हुन् । पाल्पा रिब्दीकोट ७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी राजधानी र आदर्श समाज दैनिकमा समेत कार्यरत छन् ।

उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् । यसअघि सो पुरस्कार श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेललाई दिइएको थियो । फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समारोहमा फिल्मकर्मी विनोद शेरचनलाई संघले सम्मान गरेको छ ।

२०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् । मेयर आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । उनले चलचित्र मनोरञ्जन साधनमात्र नभई अभियान तथा पथ प्रदर्शक रहेको बताए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए । कास्की शाखा संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २१ वर्षअघि शाखा स्थापना गरिएको स्मरण गर्दै चलचित्र बिट व्यावसायिक बनाउनुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारितामा प्रशस्त सम्भावना रहेको औंल्याउँदै आफ्नो पालामा आक्रामक ढंगले अघि बढेको बताए ।

संघ कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको समारोहमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, सम्मानित व्यक्तित्व शेरचन, पुरस्कृत नेपाल लगायतले बोलेका थिए ।

संघमा हाल ५६ सदस्य रहेको सचिव सन्तोष बस्यालले बताए । सभाले सचिव बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गर्दै चाँडै नै पोखरामा फिल्म महोत्सव गर्ने निर्णय गरेको छ ।

  • २० जेष्ठ २०८१, आईतवार १३:५९ प्रकाशित