बर्दिया पोखरा सम्पर्क समाजका सदस्यले मेडिप्लस हस्पिटलमा छुट पाउने

केन्द्रभाग मिडिया

पोखरा ।

बर्दियाबाट पोखरा आइ बसोबास गर्ने तथा विभिन्न पेशा व्यवसायमा संलग्न बर्दियालीहरुको संस्था बर्दिया पोखरा सम्पर्क समाज कास्कीका सदस्यले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । मेडिप्लस हस्पिटल र बर्दिया पोखरा सम्पर्क समाजले आइतबार समाजका सदस्यलाई हस्पिटलका विभिन्न सेवामा छुट दिने एकअर्कामा सम्झौता गरेका हुन् ।

जसअनुसार बेडचार्जमा २० प्रतिशत, सर्जरी/अप्रेसनमा १० प्रतिशत, प्रोसिजर, जाँचमा १५ प्रतिशत, र फार्मेसीमा १० प्रतिशत छुट समाजका सदस्यले प्राप्त गर्नेछन् । यो सम्झौता दुई वर्षका लागि लागु भएको वर्दिया पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष पुष्पा मरासिनीले जानकारी दिइन् ।

सम्झौतामा हस्पिटलका तर्फबाट व्यवस्थापक सुरेसराज सुवेदी र समाजको तर्फबाट अध्यक्ष पुष्पा मरासिनीले हस्ताक्षर गरेका छन् । उक्त सेवा लिनका लागि वर्दिया पोखरा सम्पर्क समाजको सदस्यता अनिवार्यरुपमा लिएको हुनुपर्ने समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।

वर्दिया पोखरा सम्पर्क समाजले आफ्नो स्थापनाकाल देखि नै पोखरा आइ बसेका बर्दियालीहरुको हितमा विभिन्न कार्य गर्दै आएको छ । कोरोना कहर देखि विभिन्न संकटका समयमा होस् या अन्य सुखदुखमा वर्दियालीहरुको साथमा रहि समाजले काम गर्दे आएको र यो सम्झौताले अझै समाजप्रतिको अपनत्व दिलाउन सहयोग पुर्याउने समाजका सल्लाहकार विष्णु पौडेलले विश्वास प्रकट गरे ।

  • २० जेष्ठ २०८१, आईतवार १३:२६ प्रकाशित