मुगु ।
मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा टिप्न गएका चारजनाको ज्यान गएको छ । लेक लागेर उनीहरूको ज्यान गएको हो ।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शनिबार ज्यान गएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ लैजादैँ गर्दा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा ज्यान गएको हो ।
शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको ज्यान गएको थियो । देवराज बुढाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।












