पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा आज बिहान बस दुर्घटनामा परेको छ । आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंबाट बेनी तर्फ जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस सडको दायाँतर्फ नालामा पल्टिन पुग्दा बसमा सवार १३ जना मध्ये ८ जना घाईते भएका हुन् । दुर्घटना भएको थाहा पाएपछि नौडाँडा कास्कीबाट प्रहरी टोली खटिई घाईतेको उद्धार गरेका छन् ।
घाईते हुनेमा पर्वत जलजला गाउँपालिका वडा नं.८ बस्ने बर्ष ३६ का बल बहादुर फगामी मगर, म्याग्दी मालिका बस्ने बर्ष ३९ को टक बहादुर वि क, म्याग्दी मंगला गाउँपालिका १ निस्कोट बस्ने बर्ष ४५ को प्रेम पुन,सोही ठाउँका बर्ष ५७ को तिलक शर्मा रहेका छन् ।
म्याग्दी घर बताउने बर्ष २५ की रञ्जना हमाल,म्याग्दी मालिका दरबाङ बस्ने बर्ष १५ की सबिता श्रीपाली, म्याग्दी मंगला गाउँपालिका १ सिमह बस्ने बर्ष ५७ की हरी के.सी र म्याग्दी मालिका गाउँपालिका ६ दरबाङ बस्ने वर्ष १७ का भिमसेन अधिकारी रहेका छन् । घाईतेहरुको पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।













