उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौ : मुख्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताएका छन । शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने बताउदै यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने प्रतिवद्धता समत ब्यक्त गरे ।

‘बजेट बनाउँदा किसानहरूले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उनले भने । मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गर्दै स्वदेशी वस्तुको प्रयोग गर्ने र प्रयोग गर्न उत्प्रेरित गर्नेलाई पुरस्कृत समेत गर्ने तयारी गरिएको समेत बताए ।

‘सकभर आफ्नै उत्पादन प्रयोग गर्नुहोस्, मालामा र खादामा पैसा खर्च नगर्नुहोस्’उनकोे आग्रह थियो । महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने प्रतिवद्धता जनाए । विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उनले सुनाए । जसका लागि केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्छ ।

‘नेपाली उत्पादनलाई सहुलियत दिनेछांै, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उनले भने । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्थाहरू सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी बनेका थिए ।

  • ५ जेष्ठ २०८१, शनिबार २१:०६ प्रकाशित