काठमाडौँ ।
देशका विभिन्न स्थानमा करेन्ट लागेर आइतबार एकै दिन चार जनाको ज्यान गएको छ ।
प्युठान, नौबहिनी गाउँपालिका ६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर आइतबार दिउँसो ज्यान गएको छ । आफ्नै खेत जोत्ने क्रममा बिजुलीको पोललाई अड्याउनको लागि गाडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो ।
महोत्तरी, लोहारपट्टी नगरपालिका ४ बस्ने विमल कापरको छोरा ७ वर्षीय आशिक कापरको करेन्ट लागेर आइतबार दिउँसो ज्यान गएको छ । सोही ठाउँस्थित विवाहको लागि तयार गरिएको साउण्ड सिस्टमको माइकमा बोल्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो ।
झापा, कनकाई नगरपालिका २ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ ज्यान गएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको हो ।
दाङ, घोराही उपमहानगरपालिका(३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर प्युठान माण्डबी गाउँपालिका २ तिराम बस्ने २४ वर्षीय श्याम नेपालीको आइतबार राति ज्यान गएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा ज्यान गएको हो ।













