सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नगरपालिका ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो ।

टोलीमा सुदूर पश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरीसहित सदस्यहरूको सहभागिता रहेको थियो ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गरे। ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुना टपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो ।’ उनले भने ।

स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिनेभएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उनको ठम्याई  छ।‘प्लाष्टिककै कारण विश्वमा प्रदुषण बढ्दो छ । हामीले दुनाटपरीको अधिकतम प्रयोग गरेमा प्लाष्टिकजन्य सामाग्री प्रयोगमा कमी आउनेछ र वातावरण स्वच्छतामा टेवा पुग्नेछ ।’ उनले भने – ‘विश्वसमुदायको ध्यान अब प्रदुषण न्यूनिकरणमा रहने र यस्ता प्लाष्टिकको विकल्पका साधनको उच्चतम प्रयोग गर्ने अवस्था हुने भएकाले हतोत्साही नभइकन यस्ता घरेलु उद्योगको प्रवर्द्धनमा जुटौँ ।’

  • २१ बैशाख २०८१, शुक्रबार १८:२६ प्रकाशित