नेपाली काँग्रेसले गर्न लागेको पहिलो पदेश अधिवेशन आजबाट सुरु हुदैँछ । काँग्रेसले आज सातवटै प्रदेशमा अधिवेशन उद्घाटन गर्दैछ। काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश अधिवेशनका लागि आज बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।
गण्डकी प्रदेश अधिवेशन पोखरामा हुदैँ छ । अधिवेशन बिहीबार मध्यान्ह १२ः३० मा उद्घाटन हुने प्रदेश अधिवेशन संयोजक गोपालमान श्रेष्ठले जानकारी दिएको छन् । उनका अनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
गण्डकी प्रदेश सभापतिमा देउवा समूहले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई अगाडि सारेको छ । जोशीको नेतृत्वमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कालाई उपसभापति र सामाजिक विकासमन्त्री स्याङ्जाका मेखलाल श्रेष्ठलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी देउवा पक्षको तयारीमा छ ।
वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा उनको समूहबाट ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रराज शर्मा, देवराज चालिसे, यज्ञबहादुर थापा र रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुमध्येबाट एक जनालाई सभापतिको उम्मेदवारी बनाउन वरिष्ठ नेता पौडेल, महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार छलफलमा छ ।
प्रदेशमा एक हजार १०० भन्दा बढी मतदाताले प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने छन् । बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ ।