प्रचण्डले गठबन्धन तोडेर धोका दिए : उपसभापति खड्का

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका उपसभापती तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर धोका दिएको बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन पोखरामा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको धारणा राखे । ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उनले भने, ‘भन्नुपर्ने कुराहरु धेरै छन् । यसको जवाफ समयले पनि देला ।’

उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उनले बताए ।

कार्यक्रममा उनले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

  • १० चैत्र २०८०, शनिबार २१:२१ प्रकाशित