वर्तमान सत्ता गठबन्धन बामपन्थी होइन : महासचिव पोखरेल (भिडियो)

बामपन्थी बीच फाटो ल्याएर कांग्रेसले आफ्नो भविष्य देखेको आरोप, एमालेको अर्जुन दृष्टि ‘मिसन ८४'

गिता राना

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनको उद्घाट समारोहमा बोल्दै महसचिव शंकर पोखरेल तस्बिरः गिता राना /केन्द्रखबर

पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बर्तमान सत्ता गठबन्धन बामपन्थी गठबन्धन नरहेको बताएका छन् । शनिबार एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कतिपयले बमपन्थी दलहरुको सहभागिताले बर्तमान सरकारलाई बामपन्थी भन्ने गरेका भन्दै उनले त्यस्तो नरहेको उल्लेख गरे । उनले नेकपा एमाले समाजवादी मोर्चामा सामेल नहुने समेत प्रष्ट्याएका छन् । यद्यपी भविष्यमा यस्तो मोर्चामा बनाउन सकिने उनले संकेत भने गरे । ‘कतिपय यो गठबन्धनलाई बामपन्थी गठबन्धन भनेका छन् । त्यस्तो होइन । समाजवादी मोर्चा बनाएर अहिले नै जानुपर्छ पनि भनिरहेका छैनौं’ उनले भने ।

उनले एमाले सरकारमा सामेल हुँदैमा मिसन ८४ नरोकिने पनि बताए । ‘मिसन ८४ भनेको एमाले सरकारमा सामेल भयो भनिएको छ । मिसन ८४ मुलुकको भविश्य निर्माणको एउटा संकल्प हो । हामी एमाले बिरुद्धको चक्रव्युहलाई तोडेर बाहिर आएका छौं । यही आधारमा मिसन ८४ सफल बनाउन चहन्छौं’ उनले भने । राजनीतिक अस्थिरताको वर्तमान अवस्थाले सामाजिक अराजकता फैलिएको टिप्पणी गरेका उनले मिसन ८४ले त्यसलाई रोक्ने र आशा जगाउने समेत दाबी गरे ।

वर्तमान सत्ता गठबन्धन बन्दा कांग्रेसका नेताहरु तिल्मिलाईरहेका उनले बताए । उनले कांग्रेसलाई गठबन्धनबाट बाहिर आउ भन्दा संबाद गर्नपनि नआउने गरेको टिप्पणी गर्दै बामपन्थीहरुको बीचमा फाटो ल्याएर आफ्नो भविष्य देख्ने कांग्रेसको चिन्तनले नेपालको राजनीतिले सहि बाटो लिन नसक्ने बताए । उनले नीतिका आधारमा राजनीति गर्ने हो भने अब नेपालको राजनीतिलाई नीतिको बहसका आधारमा अगाडि बढाउनु पर्ने बताए । ‘कांग्रेसले यो मान्यताका आधार आगाडि बढाउन चाहन्र्छौं भन्न सक्नुपर्छ त, यो भन्न तयार छैन’ उनले भने ।

राजनीतिक दलहरुलाई बलियो बनाउनेगरी अगाडि बढाउन आफूहरु चाहेको र मुलुकलाई राजनीतिक सहि मार्ग पहिल्याउन एमाले जस्तो सुकै त्याग गर्न तयार रहेको उनको भनाई थियो । वर्तमान अवस्थामा नीतिले नेतृत्व गर्ने अवस्था नरहेकोले महत्वपूर्ण मन्त्रालय नलिएरै भएपनि एमालेले नयाँ सरकारमा सामेल भएको धारणा राखे ।

एमालेको ११ औं जिल्ला अधिवेशनमा कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, तीन इलाकाका शाखा कमिटी, आयोजक कमिटीबाट गरी ९ सय ३५ प्रतिनिधि रहभागी रहनेछन् । पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा हुनेछ ।

अधिवेशनले कास्कीको भूगोल, इलाका कमिटीको प्रतिनिधित्व हुने गरी १ सय २० सदस्यीय कार्यसमिति चयन गर्ने छ । पार्टीको विधान अनुसार १० प्रतिशत मनोनित र विभिन्न पार्टीबाट समायोजन १० प्रतिशत गरी १ सय ४१ सदस्यीय जिल्ला कमिटी कास्की निर्माण हुने उनले उल्लेख गरे ।

  • १० चैत्र २०८०, शनिबार १७:३४ प्रकाशित