काठमाडौँ ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालय शुक्रबार भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (ण्कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए । पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे ।
पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट गरेकाले त्यसका लागि आवश्यक नीतिगत र कानूनी अड्चन हटाउन लागिएको जानकारी दिए । मन्त्री पुनले नेपालको कृषि, उर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गरे ।
संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे । ‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयाबह गरिबीको दुस्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन् ।’
राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोगजारी प्रणाली ९इपीएस० लाई नै निरन्तरता दिने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए । कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए । नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताए ।












