पोखरा।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको बताएका छन् ।
आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दै छौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।’
सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।
उनले भने, ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशको राजनीति सही बाटोमा आएको छ।’
भने– ‘कांग्रेसबाट पटक पटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।
प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताएका छन्।












