मस्को ।
रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
निर्वाचनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन ।
चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर सङ्कलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए । तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ ।
पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन नयाँ अनुहार पुटिनसँगको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।
तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रुसको आक्रमणलाई समर्थन गरेका छन् ।क्रेमलिनका आलोचकहरूले यी तीन उम्मेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औँल्याएका छन् ।
स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौं कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् ।
करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उनकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ ।
गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौँ समर्थकले सरकार विरोधी नारा लगाएका थिए ।नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उनकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेकी छन् ।