विराटनगर ।
कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भए संसद नै नटिक्ने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले यसले अंकगणित नहेर्ने बताए ।
‘सरकारमा बस्नेहरु बसिरहनु हुन्छ । बस्नु भएन भने कांग्रेसको मात्रै सरकार बन्छ । यो संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार हो । यसले अंकगणित हेर्दैन,’ उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने प्रावधान संविधानमा छ । त्यसबेलासम्म सरकार टिक्छ, जुनबेला अविश्वासको प्रस्ताव ल्याउने समय हुन्छ, त्यसबेला सरकारभन्दा पनि संसद टिक्ने कि नटिक्ने भन्ने कुरा आउँछ ।’
मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै त्यसपछि पनि आफ्नो सरकार हटाउन खोजे संसद नै विघटन गर्ने संकेत गरेका हुन् ।













