काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत् उनले महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भनेर कामना गरेका छन् ।
महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वर्द्धन गर्न प्रण गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।
‘पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौं उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु,’ सन्देशमा लेखिएको छ ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरेको उल्लेख गरेका छन् ।














