काठमाडौँ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा घोषणा गर्न आग्रह गरे । उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
पूर्वप्रधानमन्त्री भट्टराईले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई बाँड्न आँट गर्न आग्रह गरे । उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।













